काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका छन्। विभिन्न संघीय मन्त्रालय र विभाग अन्तर्गतका निकायहरुमा खाली रहेका दरबन्दीलाई खुलाएर पदपूर्ति गर्न प्रधानमन्त्री मोदीले निर्देशन दिएका हुन्।
सन् २०२० को तथ्याङ्क अनुसार भारतको केन्द्रीय संरचनामा ४० लाख ५ हजार दरबन्दी रहेकोमा ३१ लाख ३२ हजार पद मात्र पूर्ति भएको थियो। हाल रिक्त रहेका पदहरुमध्ये अधिकांश रेल्वेमा खाली रहेको बताइएको छ। सन् २०२४ मा हुने लोकसभाको निर्वाचनको मिति भन्दा करिब ४–५ महिना अघिनै नियुक्तिका काम सक्न निर्देशन दिइएको हो।
विपक्षी दलहरुले रिक्त दरबन्दी र बेरोजगारीलाई निर्वाचनको मुद्दा बनाउने तयारी गरिरहेकाले पनि मोदी सरकारले काम छिटो सक्न ताकेता गरेको हो। यसैगरि भारतिय सेनाले समेत प्रत्येक वर्ष ४५ हजार जनालाई ४ वर्षका लागि सेनामा भर्ति गर्ने योजना “अग्निपथ” सार्वजनिक गरेको छ।
चार बर्षसम्म सैनिककै रुपमा काम गरेकाहरुमध्ये २५ प्रतिशतलाई नियमित सेनामा लैजाने र बाँकी ७५ प्रतिशतलाई आकर्षक नगद सहित सेनाबाट बिदाई गरी अन्य काम र रोजगारीमा लगाउने तयारी सेनाले गरेको छ। तलब तथा पेन्सनको खर्चलाई कम गर्नकालागि ४ वर्षे करारमा सैनिक भर्ना गरिने र पेन्सनको अवधि ४ वर्षको सेवा पुगेपछी मात्र गणना गरिने पनि सेनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved