काठमाडौं । महाधिवेशनमा पराजयपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापाले राजतन्त्रको एजेण्डा परित्याग गर्दै ‘राप्रपा नेपाल’ गठन गरे । तर, हालै सम्पन्न स्थानीय चुनावमा उनको पार्टीले सामान्य उपस्थिति पनि देखाउन सकेन ।
चुनावी पराजयसँगै थापा राप्रपासँग एकताको चर्चा गर्न थालेका छन् । यदि राप्रपाले पनि राजतन्त्रको एजेण्डा त्यागेमा एकता हुन सक्ने उनको भनाइ छ । आज बुटबलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा राजतन्त्र पुनस्स्थापना हुने सम्भावना समाप्त भएकाले आफूले यो एजेण्डा छाडेको भन्दै राप्रपालाई पनि छाड्न सुझाव दिएका थिए ।
‘राजेन्द्र लिङ्देनजीले राजतन्त्रको एजेण्डा छाड्नुहुन्छ भने एकता गर्नका लागि हामी जहिले पनि तयार छौं,’ थापाले भनेका छन् । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने कुनै पनि अवस्थामा कमल थापाको पार्टीसँग आफूहरूको एकता सम्भव नरहेको बताएका छन् । राप्रपासँग एकताको कल्पनै गर्न नसकिने भन्दै उनले यसको बारेमा टिप्पणी गर्न नचाहेको बताए ।
लिङ्देनले भने, ‘राजतन्त्रको मुद्दा छोडेर हिँडेको राप्रपा नेपालसँग एकताको हामीले कल्पनै गरेका छैनौं । उहाँहरूले पनि कल्पना नगर्दा हुन्छ ।’
कमल थापाले विभाजनलगत्तै एकताको प्रसंग निकाल्नुका पछाडिको कारणबारे आफू अनभिज्ञ रहेको उनको भनाइ छ । राप्रपा र राप्रपा नेपालको मुख्य सिद्धान्त नै फरक भएकाले एकताको कुरै भएको छैन र भविष्यमा पनि कुनै गुञ्जायस छैन ।’
यसपालीको स्थानीय चुनावमा राप्रपाले सन्तोषजनक नतिजा ल्याएको छ । अघिल्लो चुनावको भन्दा धेरै संख्यामा जित हासिल गरेपछि नेताहरू उत्साहित छन् । आगामी संसदीय चुनावमा बलियो उपस्थितिका साथ देशको चौथो शक्तिका रूपमा स्थापित हुने यस पार्टीले लक्ष्य लिएको छ ।
राप्रपा नेपालले भने स्थानीय चुनावमा नमिठो हार व्यवहोरेको थियो । भर्खरै गठन भएको पार्टीले चुनावी तयारी गर्न नभ्याएकाले यो परिणाम स्वाभाविक भएको थापाले बताउँदै आएका छन् । आगामी चुनावमा नतिजा सुधारेर राष्ट्रिय पार्टीको रूपमा स्थापित हुने उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved