काठमाडौं । विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २ दशमलव ९ प्रतिशतमा घटाएको छ । जुन जनवरीको प्रक्षेपणभन्दा १ दशमलव २ प्रतिशतले कम रहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव पारेको विश्व बैंकले जनाएको छ ।
युक्रेनमा रुसको आक्रमण र रुसमाथि पश्चिमा देशको प्रतिबन्धले अन्न र तेलको मूल्य विश्वव्यापी रूपमा बढेको छ । विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा दुई देशको युद्धसँगै चीनमा भएको लकडाउन, आपूर्ति–शृङ्खलामा देखिएको अवरोध र मुद्रास्फीतिको जोखिमले आर्थिक वृद्धिलाई जटिल बनाइरहेको उल्लेख छ । धेरै देशलाई यो मन्दीबाट जोगिन हम्मे हम्मे परिरहेको विश्व बैंकका अध्यक्ष डेभिड मालपासले बताउनुभएको छ ।
प्रतिवेदनले अमेरिकी वृद्धि अनुमानलाई १ दशमलव २ अङ्कले घटाएर २ दशमलव ५ प्रतिशतमा पुर्याएको छ भने चीनको लागि पूर्वानुमान ० दशमलव ८ अङ्कले घटाएर ४ दशमलव ३ प्रतिशतमा झरेको छ । युरोप क्षेत्रको प्रक्षेपण २ दशमलव ५ प्रतिशत र जापानको १ दशमलव ७ प्रतिशतमा घटाइएको छ ।
साथै रुसको अर्थतन्त्र यस वर्ष ११ दशमलव ३ प्रतिशतले सङ्कुचित हुने अनुमान गरिएको समाचार संस्था एएफपीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved