गाउँमा भोकमरी हुने भएपछि चामल माग्न हुम्लाबाट काठमाडौंतिर

  • मंसिर ६, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङ स्थानीय बासिन्दासँगै पाँच दिन पैदल हिँडेर सिमकोट एअरपोर्ट आइपुग्नु भएको छ ।

गाउँमा भोकमरी हुने भएपछि सरकारसँग हारगुहार गर्न उहाँ स्थानीय बासिन्दाको साथमा हिमाली भेगको कठिन बाटो पार गर्दै सदरमुकाम आइपुग्नुभएको हो । त्यहाँबाट नेपालगञ्ज हुँदै काठमाडौं आउन लागेको तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।

हुम्लाका सांसद छक्कबहादुर लामाको साथमा उहाँ काठमाडौं आउन लाग्नुभएको हो । टिकट पाए र समयमा नै उडान भए आजै बेलुकी काठमाडौं आइपुग्ने वडाध्यक्ष तामाङले बताउनु भयो । ‘आज बेलुकी काठमाडौं पुग्न सके भोलि गाउँका समस्यालाई सरकारसमक्ष राख्दै समस्या समाधानका लागि आग्रह गर्नेछौँ ’ उहाँले भन्नुभयो ।

गाउँमा भोकमरीको समस्या हुने सङ्केत देखिएपछि तीन गाउँका स्थानीयको बैठक बसेर वडाध्यक्ष तामाङको नेतृत्वमा ३० जनाको टोली पाँच दिन हिँडेर हिजो हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको हो ।

तामाङले टेलिफोनमा भन्नुभयो, ‘यहाँ सीडीओलाई भेटेर समस्या सुनायौँ तर, उहाँ उल्टै हामीलाई नै जिल्लाका दुःख सुनाउनुहुन्छ । गाउँमा खाद्यान्नको समस्या रहेको थाहा पाएको छु, तर सदरमुकामको डिपोमा पनि चामल छैन, कहाँबाट पठाउँ भन्नुभयो । अब काठमाडौंमा पुगेर सम्बन्धित मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई पीडा सुनाउँछौँ, राज्यले आफ्ना नागरिकलाई भोकै राखेर मार्छ कि समस्या समाधान गर्छ भनेर सोध्छौँ । यसपछि हामी गाउँ फर्कन्छौँ र हुम्लाको सदरमुकाम सिमकोटमा छोडेर आएका हाम्रा टोलीलाई सँगै लगेर गाउँ पुग्छौँ ।’

उवाको सातु सकिएपछि भोकमरीको चिन्ता

चीनसँग जोडिएको हुम्लाको अत्यन्तै विकट नाम्खा गाउँपालिकामा आलु र उवा मात्रै उत्पादन हुन्छ । यसबाट यहाँका बासिन्दाले मुस्किलले दुईरतीन महिना कटाउँछन् । नाम्खाको अति विकट गाउँ तिल, जाङ र हल्जीका झण्डै पाँच सय जनसङ्ख्या भोकमरीको चिन्तामा छन्।

हिल्सा नाका पारि आइपुगेको मैदा र चामल हिमपातका कारण नेपाल ल्याउन समस्या भएपछि गाउँमा भोकमरी हुने अवस्था आएको गाउँपालिकाले जनाएको छ । भोकमरीको चपेटामा हल्जीका ९६, जाङका ३० र तिल गाउँका २५ घरधुरी पर्छन् ।

यहाँका बासिन्दाले कोरोना महामारी अघिसम्म चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै मैदा ल्याएर छाक टारेका थिए । हुम्लाका लागि याल्बाङको बिक्री केन्द्रमा पठाउने चामल पनि सरकारले चिनियाँ बाटो हुँदै पठाउने गरेको थियो। रसुवाको केरुङबाट ताक्लाकोट हुँदै हिल्सा नाकाबाट चामल भित्रिन्थ्यो । तर, कोरोना महामारीपछि बन्द गरेको नाका चीनले अहिलेसम्म खोलेकै छैन ।

झण्डै एक महिनाअघि हिल्सा र नाम्खा गाउँपालिकाका लागि चीनले चार हजार छ सय ८० बोरा मैदा र आठ सय बोरा चामल सहयोग गरेको थियो । यसमध्ये नगरपालिकाले एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय गरेको थियो । तर यो चामल हिमपातका कारण नाका पारि नै रोकिएको छ । यस्तै गएको वर्ष भने खाद्य बिक्री केन्द्र याल्बाङबाट तीन सय क्विन्टल चामल गाउँमा आएको थियो । त्यसयता भने अहिलेसम्म चामल आएकै छैन ।

अब गाउँमा भोकमरी हुने भयो भन्ने गाउँलेलाई चिन्ता छ । गाउँमा भोकमरी नहोस् भनेर वडाध्यक्षसहितको टोलीले राज्यसँग हारगुहार गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुरुण्डीको कारागारमा ...

काठमाडौं । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ। आगलागीम ...

विवाह पञ्चमी आज ...

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र स ...

राजाको चासो देश र जन ...

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहका सम्वाद सचिव फणिराज पाठकले जनताको इच्छा र अकांक्षाका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved